फिस्लिङमा सवारी दुर्घटना, मोटरसाइकल चालक जर्मन नागरिकको मृत्यु
थानकोट ।
इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् ।
बिहीबार बिहान १०ः १५ बजे फिस्लिङमा भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
नारायणगढबाट काठमाडौं आउँदै गरेको ना. ४१ प. ५४८ नम्बरको को मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ जाँदै गरेको गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको पिकअप गाडी ठोक्किएका थिए । दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् ।
पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका-५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।
तस्बिरःदानबहादुर गुरूङ














