चोभार-पाटन सबस्टेसन जोड्ने १३२ केभी डबल सर्किट भूमिगत प्रसारण लाइन निर्माण हुने
थानकोट ।
काठमाडौंका विभिन्न स्थानमा बिजुलीका तार भूमिगत गर्ने काम गरिरहेको नेपाल विद्युत प्राधिकरणले चोभार-पाटन सबस्टेसन जोड्नेगरी १३२ केभी भूमिगत प्रसारणलाइन आयोजना पनि अघि बढाउने भएको छ।
काठमाडौं र ललितपुरका विभिन्न स्थान समेट्ने यो आयोजनाले डबल सर्किट प्रसारणलाइन निर्माण गर्ने भएको हो। यसका लागि प्राधिकरणको सामाजिक सुरक्षण तथा वातावरण व्यवस्थापन विभागले शनिबार सार्वजनिक सूचना जारी गर्दै सरोकारवालाको राय/सुझाव माग गरेको छ।
प्रस्तावित आयोजनाले चोभार, कीर्तिपुर-६ मा निर्माणाधीन चोभार सबस्टेसनबाट लगनखेल, ललितपुर मनपा-५ को पाटन सबस्टेसनसम्म करिब ५ किलोमिटर लम्बाइको डबल सर्किट भूमिगत प्रसारणलाइन निर्माण गर्नेछ।
उक्त प्रसारणलाइनमा तारलाई उद्गम विन्दुदेखि अन्तिम विन्दुसम्म पक्की सडकमुनि बिछ्याइनेछ। प्रसारणलाइनमा ९ वटा जोइन्ट पिट रहने प्राधिकृणले जारी गरेको सूचनामा उल्लेख छ।
तार भूमिगत गर्दा खाडल खनिने र केही ठाउँमा तेर्सो ड्रिलिङ विधि प्रयोग गरिने पनि प्राधिकरणले जनाएको छ।
आयोजनाको प्रस्तावित क्षेत्र कीर्तिपुर-६ र ललितपुर महानगरका ४, ५, १३, १४ र १८ नम्बर वडा पर्ने सूचनामा जनाइएको छ।
आयोजनामा काम थाल्नुअघि प्राधिकरण वातावरणीय परीक्षण प्रतिवेदन तयारीको चरणमा छ।












