ट्रिपरले किचेर घाइते भएकालाई सावेलले हानेर हत्या !
थानकोट ।
तारकेश्वर नगरपालिका-३ मा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि प्रहरी वृत्त बालाजु तनावग्रस्त भएको छ । गत आइतबार राति ९ बजे तारकेश्वरको चिसापानीमा बा ५ ख ६७७९ नम्बरको ट्रिपरको ठक्करबाट सविन फुँयालको मृत्यु भएको थियो । मृतक फुँयालका दाजु जयराम घिमिरेले ट्रिपर चालक, सहचालक र नजिकै बालुवा स्टोर गरिरहेका व्यक्तिहरूले भाइलाई घाँटीमा सावेलले हानेर हत्या गरेको आरोप लगाएका छन् ।
‘ट्रिपरका मान्छेले ट्रिपररले ठक्कर दिएपछि घाइते मात्रै भए लफडा हुन्छ भन्दै घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जस्तो देखिन्छ’, घिमिरेले भने, ‘घटनाको अवस्था हेर्दा हत्या भएको देखिन्छ तर प्रहरीले दुर्घटना भन्दै आएको छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले मृतकको घाँटीमा चोट देखिएकाले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गर्ने बताए ।
‘आफन्तले किटानी जाहेरी दिएका छन् । पोष्टमार्टम गरेर हत्या वा ट्रिपरले हानेर मृत्यु भएको भन्ने खुल्ने छ’, प्रवक्ता मैनालीले भने लोकान्तरमा खबर छ । उनका अनुसार पोष्टमार्टमको रिपोर्ट नआएसम्म हत्या वा दुर्घटना भन्न नसकिने बताए । प्रहरीले ट्रिपर चालक शिव विकलाई नियन्त्रणमा लिएको छ ।














