चन्द्रागिरिमा बलिउड अभिनेता विवेक ओबरोय
थानकोट ।
बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले चन्द्रागिरिको भ्रमण गरेका छन् । अभिनेता ओबरोयले बिहीबार दिउँसो चन्द्रागिरि आएका हुन् । त्यसअघि उनले बिहान पशुपतिनाथको दर्शन गरेका थिए ।
१० दिनको नेपाल बसाइका क्रममा उनी सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनीलगायत ठाउँमा भ्रमण गर्नेछन्। सो क्रममा उनी प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फ्लायर गर्ने तालिका रहेको छ । ओवराय धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्नेछन्। विवेकको परिवारलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन्।

ओबेरोयले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिँदै काठमाण्डौँको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिएका छन् ।
ओवरायले मुम्बईबाटै आफू नेपाल आउन लागेको जानकारी भिडियोमार्फत दिएका थिए। ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ। म नेपालमा आउन पाउँदा एकदमै खुसी छु किनकि नेपाल यस्तो देश हो, जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ। नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। मलाई २० वर्ष अभिनय करियरमा नेपाली दर्शकले जति माया दिनुभएको छ, त्यसप्रति आभारी छु,’ उनले भनेका थिए।
उनी बुधबार साँझ नेपाल आइपुगेका हुन् ।













