बागमतीका सभामुख र उपसभामुखले एक लाख बढीको कपडा लगाए, ६० हजारको पानी खाए
थानकोट।
बागमती प्रदेशसभाले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालको सुरुवात गर्दैछ । ४ मंसिरमा प्रदेशसभा निर्वाचनबाट प्रदेशसभाले १ सय १० सदस्य पाइसकेको छ ।
यसअघि २०७४ मा भएको निर्वाचनबाट प्रदेशसभाले पहिलो कार्यकाल चलायो । यसबीचमा बागमतीमा ३० भन्दा बढी मन्त्री, ३ जना मुख्यमन्त्री भए । प्रदेशसभाको निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ थिए भने उपसभामुख राधिका तामाङ । यस निर्वाचनबाट श्रेष्ठ पराजित भएका छन् । तामाङ पुनः निर्वाचित भइन् ।
प्रदेशसभा सचिवालयका अनुसार अघिल्लो कार्यकालभर सभामुख रहेका श्रेष्ठ र उपसभामुख रहेकी तामाङले ६० हजार रुपैयाँको पानी पिएका छन् । श्रेष्ठ र तामाङले १ लाख ३० हजार रुपैयाँको पोशाक लगाएका छन् ।
प्रदेशसभा सचिवालयको आर्थिक प्रशासन शाखाले उपलब्ध गराएको खर्च विवरणअनुसार सभामुख र उपसभामुखको सेवासुविधामा मात्रै पाँच वर्षमा ३ करोड २७ लाख ७७ हजार ४ सय ४७ रुपैयाँ खर्च भएको छ । श्रेष्ठ र तामाङले पारिश्रमिकबापत एक करोड ३९ लाख ७२ हजार ३ सय २१ रुपैयाँ बुझेका छन् ।
२०७४ मा बागमतीमा सरकार बनाउँदा तत्कालीन नेकपाभित्रको भागवण्डामा एमालेले सभामुख पाएको थियो भने नेकपा माओवादी केन्द्रले उपसभामुख । काठमाडौंका श्रेष्ठ बागमतीमा मुख्यमन्त्रीका दाबेदार थिए तर, राप्रपाका उम्मेदवारसँग पराजित भए ।
शिलापत्रबाट














