प्रधानमन्त्री देउवाले दिए रामचन्द्र पौडेललाई बधाई

Thankot Times

थानकोट ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन्।

जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट पौडेल बिहीबार विभूषित भएका थिए।

पौडेल विभूषित भएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा पुगेका थिए। सो अवसरमा प्रधानमन्त्री देउवाले नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘दि अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएकोमा  बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको बताए।

यस्तै नेता पौडेलले यो सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गर्दै यो सम्मान नेपाल, नेपाली र कांग्रेस पार्टीप्रतिको सम्मान भएको महसुस गरेको बताए।

सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई बिहीबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो।

नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि विभूषित गरिएको जनाइएको छ।

जापानी सम्राट मेइजीले सुरु गरेको सो राजकीय सम्मान विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान हो। नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्षसमेत रहेका थिए।

उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रियरूपमा संलग्न थिए।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *