बागमती प्रदेश सभामा ३३ राजनीतिक दलको धरौटी जफत

Thankot Times

थानकोट ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेश सभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ।

निर्वाचनमा  प्रत्यक्षतर्फ ३५ र समानुतिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए। जसमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगद्वारा हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो।

आयोगका सचिव गोकर्णमणि दवाडीका अनुसार प्रदेशसभाको निर्वाचनमा सहभागी भएका प्रत्यक्षतर्फ पुरुष पाँच सय ८८ र महिलातर्फ ८० गरी छ सय ६८ जना र समानुपातिकतर्फ सात सय ५४ जना उम्मेदवारको बन्दसूची कायम भएको थियो।

जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७ जना महिला गरी कूल चार सय ८४ को जनाको धरौटी जफत भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार बागमती प्रदेशमा सात वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ। प्रदेशसभातर्फ एक सय १० जना निर्वाचित भएका छन्। जसमा पुरुष ७० जना र महिला ४० जना छन्।

प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ तथा अन्य २७ गरी कूल ३४ लाख ७१ हजार चार सय ९२ मतदाता थिए। आयोगको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सचिव दवाडीले पेस गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *