बालाजुसहित तीन स्थानमा काठमाडाैं महानगरको बारूण यन्त्र शाखा, बल्खुमा पनि स्थापना हुने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्रभित्र बारूण यन्त्र शाखा सञ्चालनमा ल्याएको छ।

विपदको समयमा छिट्टै सेवा दिन पाइयोस् भनी बालाजुमा समेत बारूण यन्त्र सञ्चालनमा ल्याइएको विपद व्यवस्थापन विकासका निर्देशक रविनमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार महानगरको उत्तरी भेग बालाजुमा बारूण यन्त्र शाखा सञ्चालनमा ल्याइएको हो। हाल औद्योगिक क्षेत्रभित्र अस्थायी रूपमा शाखा सञ्चालनमा ल्याइएको हो।

केन्द्रीय बारूण यन्त्र कार्यालय बसन्तपुर र चाबहिलको रामहिटीमा मात्रै बारूण यन्त्र शाखा रहेकाले महानगरको उत्तरी क्षेत्रलाई मध्यनजर गरी बालाजुमा पनि शाखा सञ्चालनमा ल्याइएको उनको भनाइ छ, सेतोपाटीमा खबर छ।

बालाजु औद्योगिक क्षेत्र रहेको र स्थानीयहरूलाई पर्ने आवश्यकतालाई मध्यनजर गर्दै दमकल सेवा सञ्चालन गरिएको उनले बताए।

‘यहाँ आगलागीका घटना घटिरहेका हुन्छन्,’ उनले भने, ‘काठमाडौंको प्रमुख औद्यागिक क्षेत्र पनि यहाँ छ। आगलागी हुँदा बसन्तपुरबाट वा चाबहिलबाटै दमकल मगाउन पर्ने स्थिति छ।’
श्रेष्ठका अनुसार बालाजुको बारूण यन्त्र कार्यालयमा दुइटा दमकल छ। एउटा तीन हजार र अर्को २५ सय लिटरको ट्यांकी छ।
‘हाम्रा कर्मचारी त्यही अफिसमा बस्नुहुन्छ,’ उनले भने, ‘केही भएको खण्डमा तत्काल घटनास्थलमा पुग्न सकियोस् र क्षति हुन नदिने भन्ने हाम्रो उद्धेश्य हो।’
बालाजु बारूण यन्त्र मंसिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको हो। उक्त कार्यालयमा हाल सात जना कर्मचारी काम गर्छन्।

यसका साथै, उनले औद्योगिक क्षेत्रबाहिर कार्यालय बनाउन टेन्डरको प्रक्रिया अघि बढिसकेको बताए।
‘अहिले आफ्नै कार्यालय नभइन्जेल यहाँ बसेर सेवा दिनेछौं,’ उनले भने, ‘हाम्रो कार्यालय बनाउन टेन्डरको प्रक्रिया अघि बढिरहेको छ, छिट्टै नै आफ्नै भवनबाट सेवा दिनेछौं।’

यस्तै, बिस्तारै बल्खुमा पनि बारूण यन्त्र कार्यालय सञ्चालन ल्याइने उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *