देशभर तापक्रम घट्दो, उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना बढ्दो
थानकोट ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
तराईका थोरै भू-भागमा हुस्सु कुहिरो लागेको छ ।महाशाखाका अनुसार शनिबार दिउँसोː प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आइतबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।
देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।














