मेलम्चीको पानी ३ सय ५० ठाउँमा चुहावट

Thankot Times

थानकोट ।

काठमाण्डाै उपत्यकाका विभिन्न स्थानमा पानी चुहिँदा सडक हिलाम्मे भएका छन् । पुरानै वितरण प्रणालीबाट घरका धारामा छाडिएको मेलम्चीको पानी १३ दिनमा साढे तीन सय ठाउँमा चुहावट भएको छ । ठाउँ-ठाउँमा भएको चुहावटले उपत्यकाका कैयौँ सडक तथा फुटपाथ जलमग्न भएका छन् । वर्षाबाट आयोजनामा क्षति हुन नदिन जेठको अन्तिम सातादेखि मुहानमै बन्द गरिएको मेलम्चीको पानी २३ मंसिरदेखि पुरानै प्राणालीबाट उपत्यकाका धारामा छाड्न सुरु गरिएकामा पाइप तथा जडान फुटेर चुहावट भएको हो । २९ मंसिरदेखि पूरै क्षमतामा १७ करोड लिटर नै आउन थालेपछि क्षति झन् बढेको छ । एउटै सडक क्षेत्रमा १० भन्दा धेरै ठाउँमा चुहावट भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले साढे तीन सयजति ठाउँमा चुहावट भएकोमा ९० ठाउँमा मर्मत भइसकेको जनाएको छ । ‘अहिले समस्या बढ्नु स्वाभाविक हो । हाम्रो पुरानो वितरण प्रणालीमै पानी थपिँदा भोलुम बढ्यो । पाइपमा पनि प्रेसर बढ्यो । यी कारणले गर्दा केही ठाउँमा पानी लिक त भइहाल्छ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने, ‘चुहावट देखिएसँगै हामीले अनुगमन गरिरहेका छौँ । करिब ९० ठाउँको चुहावट मर्मत गरिसकेका छौँ ।’ राईले चुहावट भएको देखिएमा शाखा कार्यालयमा जानकारी गराई सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।

सुरुवाती दिनमा दैनिक तालिकाविना नै पानी वितरण गरिरहेको केयुकेएलले हाल दैनिक रूपमा पानी वितरण हुने तालिका पनि सार्वजनिक गरेको छ । हाल मेलम्चीको पानी तीन दिनको अन्तरमा वितरण भइरहेको छ ।

नयाँपत्रिकाबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ