झुटो विवरण पेश गरी नागरिकता र राहदानी लिने बर्मेली नागरिक कलंकीबाट समातिए
थानकोट ।
झुटो विवरण पेश गरी नागरिकता र राहदानी लिएर दुरूपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही त्रिभुवननगर गाविस-१ का ३९ वर्षीय मोहमद नुर आलम रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्रेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा आलमले सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस-१ मा बसि मदरसामा पढाउँदै आएका थिए।
म्यानमारका नागरिक आलमले झुठा विवरण पेश गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानी समेत प्राप्त गरेको खुल्न आएको छ।
उनलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।












