कर्णाली प्रदेशसभा सदस्यले आज शपथ लिने
थानकोट ।
कर्णालीका प्रदेशसभा सदस्यहरूको शपथ आज हुने भएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउने छन् ।
प्रदेशसभा सदस्यहरुको शपथ आज दिउँसो ३ बजे हुनेछ । सो अघि बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ । शाहले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवहाक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्नेछन् ।
प्रदेशसभा सदस्यले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण-पत्र (सक्कल र सो को प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजेनै प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको थियो ।
तर आइतबार कुनै पनि सांसदहरुले जानकारी नगराएको जनाइएको छ।














