काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल: नेपाल सबै खेलमा पराजित
थानकोट ।
बंगलादेशमा जारी काभा २३ वर्षमुनि (यू-२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन बनेको छ।
ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले नेपाललाई ३-२ को सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रह्यो ।
खेलको पहिलो सेट २५-२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो। नेपालले श्रीलंकामाथि दोस्रो सेट २५-९ ले जित्यो।
त्यस्तै खेलको तेस्रो सेट श्रीलंकाले २५-१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो ।
नेपाल २५-२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो। खेलको अन्तिम सेट श्रीलंकाले १५-१० ले आफनो पक्षमा पारेपछि श्रीलंकाको जित पक्का भयो।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिकिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो।
आजै हुने फाइनल खेलमा आयोजक बंगलादेश र किर्गिकिस्तान भिड्नेछन्।













