अब राति ११ बजेपछि पनि फिल्म प्रदर्शन गर्न पाइने
थानकोट ।
चलचित्र विकास बोर्डले चलचित्र सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ ।
सोमबार बसेको बोर्डको बैठकले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तिमा सात दिन अगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिन अगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिवर्तन गरेको हो ।
यस्तै, बैठकले राति ११ बजेपछि चलचित्र प्रदर्शन सुरू गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।
यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।
चलचित्र संघले एक हप्ता अगाडि सेन्सर सिफारिस लिनुपर्ने, ११ बजेपछि फिल्म प्रदर्शन गर्न नपाउने बोर्डको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेको थियो ।














