आत्महत्या गर्न मेटासिट बोकेर हिँडेकी ‘थानकोट’की महिलाको उद्धार

Thankot Times

थानकोट । 

नेपाल प्रहरीको साइबर ब्यूरोको भोटाहिटीस्थित कार्यालयमा थरीथरीका समस्या लिएर सेवाग्राही आइपुग्छन् । अधिकांश विषय यौनजन्य साइबर अपराध भए पनि वित्तीय अपराध, ब्ल्याकमेल र आत्महत्याको स्थितिसम्मको विषय पनि साइबर ब्यूरोले ‘ह्याण्डिल’ गरिरहेको छ ।

सानो जनशक्तिमा रहेको साइबर ब्यूरोले ३० महिनाको अवधिमा ४४ वटा आत्महत्यासँग सम्बन्धित घटनामा उद्धार गरेको छ । ४४ मध्ये ४२ वटा घटनामा जीवित उद्धार गरिएको छ भने दुई घटनामा ब्यूरोले पहलकदमी लिँदालिँदै पनि सम्बन्धित व्यक्तिको ज्यान बचाउन सकेन् ।

पुस ३ गते साइबर ब्यूरोको इमेल ठेगानामा इमरजेन्सी रेस्पोन्सका लागि भन्दै एउटा इमेल आयो । भर्खरै कक्षा १२ पढ्दै गरेकी किशोरीले आफ्नी सानिमा आत्महत्या गर्ने अवस्थामा पुगिसकेको भन्दै उद्धार गरिदिन साइबर ब्यूरोमा इमेल पठाएकी थिइन् ।

ब्यूरोमा त्यस्तो इमेल आउना साथ भोटाहिटीस्थित साइबर ब्यूरोको टोलीले आत्महत्याको बिन्दुसम्म पुगिसकेकी महिलालाई सम्पर्क गर्‍यो । दुई सन्तानकी आमा रहेकी ती महिलालाई आत्महत्याको बिन्दुसम्म पुर्‍याउने कारण थियो, विवाहेत्तर यौन सम्बन्ध र त्यसपछि ब्ल्याकमेल ।

काठमाडौंको थानकोट घर भएकी २८ वर्षीय मेलिना (नाम परिवर्तन) आफ्ना श्रीमानलाई औधी माया गर्छिन् । श्रीमानले पनि मेलिनालाई औधी माया गर्छन् । काठमाडौंमै घर र जग्गाजमिन प्रशस्त भएका उनीहरुलाई दैनिक खर्च चलाउन भने धौ धौ पर्न थाल्यो । दुई सन्तान जन्मिसकेका कारण उनीहरुको खर्च बढ्न थालेपछि मेलिनाका श्रीमान वैदेशिक रोजगारीमा जाने सोचमा पुगे । सन्तान र परिवारको भविष्यका लागि मेलिनाले पनि श्रीमानलाई बाहिर पठाउने निधो गरिन् र मेलिनाका श्रीमान विदेश गए ।

मेलिनाको दिदीको विवाह नुवाकोटमा भएको थियो । बेलाबेलामा उनी दिदीको घर गइरहन्थिन् । त्यही समय नाताले दिदीको देवर पर्ने शंकरसँग मेलिनाको चिनजान भयो । चिनजानपछि उनीहरुले मोबाइल नम्बर साटासाट गरे अनि कुराकानी गर्न थाले । कुराकानीकै क्रममा उनीहरुबीच शारीरिक सम्पर्क राख्नेसम्मको कुरा भयो । फोनमै सहमति जुटेपछि शंकर नुवाकोटबाट काठमाडौंको कलंकी आए । मेलिना पनि थानकोटबाट कलंकी आइन् । कलंकीकै एक होटलमा उनीहरुबीच शारीरिक सम्पर्क भयो ।

पहिलोपटक सम्बन्ध भएपछि पनि उनीहरु फोनमा कुराकानी गरिरहन्थे । त्यसपछि पनि उनीहरु बेलाबेलामा कलंकीमै भेट भएर समय ब्यतित गर्थे । तर शंकरले भनेको सबै समयमा मेलिना भेट्न जान सक्दिनथिन् । त्यसपछि शंकरले मेलिनालाई धम्की दिन थाले । आफूले अन्तरङ्ग भिडियो रेकर्ड गरेको र आफूले भनेको समयमा यौन सम्पर्कका लागि उपस्थित नभए वा बेलाबेलामा खर्च नपठाए भिडियो भाइरल गरिदिने धम्की दिन थाले ।

तर शंकरले भनेको समयमा सधैँ उपस्थित हुन मेलिनालाई सम्भव थिएन । उक्त केटासाथी बेरोजगार रहेका कारण उसले बारम्बार खर्च पठाउनसमेत धम्की दिइरहन्थ्यो । पैसा नपठाए श्रीमानलाई नै भिडियो पठाएर सबै खत्तम पारिदिने धम्कीसमेत दिन थाल्यो ।

बारम्बारको धम्कीपछि ती महिला आत्महत्या गर्ने मनसायसहित नुवाकोटमै रहेको दिदीको घरमा पुगिन् । दुई छोराछोरीलाई काठमाडौंमै छाडेर दिदीसँग कुरा गर्न नुवाकोट पुगेकी मेलिनाले दिदीसँग शंकरको कुरा गर्न सकिनन् । उमेरले आफूभन्दा करिब ११ वर्ष कान्छी रहेकी दिदीकी छोरीलाई मेलिनाले सबै कुरा बताइन् । मेलिनाले आफ्नो ब्यागमा रहेको विषादी देखाएर आफू आत्महत्या गर्न लागेको र छोराछोरीको हेरबिचार गर्न दिदीको छोरीलाई आग्रह गरिन् । तर आमा (मेलिनाको दिदी)सँग उक्त कुरा नगर्न उनले भनिन् ।

कक्षा १२ मा पढ्दै गरेकी मेलिनाको दिदीको छोरीले सानिमालाई सम्झाउँदै घटना बाहिर पनि नआउने र यस्तो केस साइबर ब्यूरोले हेर्ने गरेको भन्दै उजुरी गर्न आग्रह गरिन् । उजुरी गरेपछि सबै घटना बाहिर आउने भन्दै मेलिनाले उजुरी गर्न अस्वीकार गरिन् । आफू अन्तिम अवस्थामा पुगिसकेका कारण अब आत्महत्या नै अन्तिम विकल्प रहेको उनले बताइन् ।

मेलिनाको पीडा सुनेलगत्तै उनकी दिदीको छोरीले सबै कुरा उल्लेख गरेर साइबर ब्यूरोमा इमेल गरिन् । इमेल प्राप्त भएलगत्तै साइबर ब्यूरोले तत्कालै ती किशोरी र उनकी सानीआमालाई सम्पर्क गरेर शंकरलाई तत्कालै पक्राउ गर्ने र घटना बाहिर पनि नआउने आश्वासन दियो । ब्यूरोका प्रहरीले मेलिनालाई एक्लै नछाड्न र विषादी नियन्त्रणमा लिन किशोरीलाई आग्रह गरे । किशोरीले प्रहरीले भनेझैँ गरिन् ।

साँझको समयमा इमेल आएकाले प्रहरीले तत्कालै पक्राउ गर्ने प्रयास पनि गर्‍यो । तर तत्काल पक्राउ गर्दा घटना बाहिर आउने डरले प्रहरीले अर्कैै उपाय लगाएर शंकरलाई नियन्त्रणमा लियो । त्यसलगत्तै शंकरको मोबाइल जफत गरी मोबाइलको अध्ययन गर्‍यो । मोबाइलमा मेलिना र शंकरको अन्तरङ्ग भिडियोहरु भेटियो । प्रहरीले तत्कालै उक्त डिभाइस फर्म्याट गरी ल्यापटप लगायत अन्य डिभाइसमा पनि राखिएको छ कि भनी अनुसन्धान गर्‍यो । तर अन्यत्र कहीँ राखेको नपाएपछि प्रहरीले अबदेखि ब्ल्याकमेल नगर्ने र कहिल्यै सम्पर्क नगर्ने शर्तमा शंकरलाई छाडिदियो । शंकरले पनि मेलिनासँग माफी माग्यो र अब त्यस्तो गल्ती नगर्ने र बाँकी केही नरहेको आश्वस्त पार्‍यो । ब्यूरोले परिवारका सदस्यसम्म घटना पुग्नसक्ने देखेर शंकरविरुद्ध मुद्दा भने चलाएन । पारिवारिक सम्बन्धमा पनि विग्रह हुनसक्ने देखेपछि आफूहरुले मुद्दा नचलाएको ब्यूरोका एक प्रहरी अधिकारीले बताए ।

शंकरको मोबाइल जफत गरी फर्म्याट  गरेपछि आत्महत्याको अन्तिम बिन्दुमा पुगेकी मेलिनाले पनि राहतको स्वास फेरेकी छन् । मृत्यु शैय्याबाट फर्काइदिएको भन्दै उनले अब कुनै गल्ती नगरी छोराछोरी हेरेर बस्ने बताएकी छन् ।

(गोपनीयता कायम राख्न नाम, ठेगाना, सन्तानको सङ्ख्या आदि परिवर्तन गरिएको छ ।)

मदन ढुङ्गाना, रातोपाटी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ