अख्तियारले ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेर खोजेका व्यक्ति को हुन् ?
थानकोट ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजजिक सूचना निकालेर एक फरार व्यक्तिबारे जानकारी गराउन आग्रह गरेको छ । सूचना दिएबापत ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरिएको छ ।
त्यसपछि ती व्यक्ति को हुन् भन्नेबारे चासो बढेको छ । आयोगले उनको नाम र घटना विवरण खुलाएको छैन् ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पुरस्कार नै घोषणा गरेर व्यक्तिको खोजी गरिएको अख्तियारको इतिहासमा यो पहिलो घटना हो ।
आयोगका प्रवक्ता भण्डारीले भने, “अन्य कुरा भन्न मिल्दैन । हामीले सूचना जारी गरेका व्यक्तिविरुद्धको मुद्दा चलिरहेको छ । सूचनामा उल्लेख भएबाहेकका कुरा भन्न मिल्दैन ।”
आयोगले यही पुस १३ गते सूचना जारी गर्दै जुनसुकै स्थानमा जो कोहीले देखेर सबैभन्दा पहिले सूचना दिने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने जनाएको हो ।
“अन्दाजी ३५/४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरुष यस फोटोमा देखिएको व्यक्तिलाई देख्ने जो कोहीले खबर गरी भ्रष्टाचार अपराधको अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ,” आयोगको सूचनामा उल्लेख छ ।
स्रोतका अनुसार अख्तियारले खोजिरहेका ती व्यक्ति ०७५ सालअघि त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको उत्तरपुस्तिका परीक्षणसम्बन्धी नक्कली कागजपत्र बनाएको घटनामा जोडिएका छन् । उनले उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर त्रिविको खाताबाट २६ लाख रुपैयाँ ठगी गरेको बताइएको छ ।














