काठमाडौंको टोखामा आगलागी
थानकोट ।
काठमाडौंको टोखा नगरपालिका-१० स्थित सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेका टहराहरूमा आगलागी भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझको आगलागी प्रहरीले नियन्त्रणमा लिइसकेको छ । काठमाडौं महानगरपालिका, बालाजु औद्योगिक क्षेत्र, बूढानीलकण्ठ नगरपालिका र प्रहरीको वाटर क्यानन गरी ४ वटा दमकलहरु साथै ५ वटा पानी ट्यांकरहरूको प्रयोग गरी शुक्रबार साँझ नै आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू समेत खटिएका थिए । राति ९ बजेसम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन् । यद्यपि आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।
घटनाबारे प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।














