विदेशी नागरिकलाई ठगी गर्ने चन्द्रागिरि-५ बस्ने साउदसहित ६ जना पक्राउ
थानकोट ।
सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अछाम बन्नीगढी गाउँपालिका-६ घर भई काठमाडौं चाबहिल बस्ने ३५ वर्षीय पृथ्वीबहादुर शाह, सोही ठाउँका २५ वर्षीय विजयविक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका-८ बस्ने २७ वर्षीय चक्रबहादुर खत्री, दोलखा खोपाचागुं घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्ने ४४ वर्षीय अनुप खड्का, नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-५ बस्ने २७ वर्षीय रंगबहादुर साउद रहेका छन् । उनीहरूलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरूले सम्बन्धित निकायहरूबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरु संचालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उदेश्य भन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक जना अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पुर्याई एन्टीभाइरस नविकरण बापतको रकम पठाउनु भनि झुक्याएको प्रहरीले जानकारी दिए ।














