बागमतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जमरकट्टेल निश्चित
थानकोट ।
बागमती प्रदेशमा आगामी सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले बागमती प्रदेशमा माओवादी केन्द्र र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा माओवादीले सरकार गठन गर्ने भएको हो ।
उक्त सहमतिअनुसार आगामी प्रदेश सरकारको मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जमरकट्टेल बन्ने निश्चित भएको हो । गत पुस १५ गते बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले जमरकट्टेललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुने संवैधानिक प्रावधान अनुसार माओवादी केन्द्रका जमरकट्टेल मुख्यमन्त्री नियुक्त हुने निश्चित भएको हो ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका जमरकट्टेल यसअघि पनि माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेताको जिम्मेवारीमा थिए । धादिङको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित जमरकट्टेल प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त हुँदैछन्।
२१ सिट सहित प्रदेशसभामा प्रतिनिधित्व गरेको माओवादी केन्द्र प्रदेशको तेस्रो ठूलो दल हो । प्रदेशसभाको अघिल्लो कार्यकालमा नै मुख्यमन्त्रीमा दाबी गरेपनि तत्कालीन गठबन्धनको भागबण्डाका कारण माओवादी केन्द्र सरकारको नेतृत्वबाट बाहिरिएको थियो ।
प्रदेश सरकार गठनका लागि गत बिहीबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पुस २५ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले दिएको समय सीमा आज साँझ सकिँदैछ ।














