नागढुङ्गा सुरूङ मार्गको मुख्य सुरुङ खन्ने काम २७ प्रतिशत बाँकी

Thankot Times

थानकोट ।

निर्माणाधीन नागढुङ्गा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम अब २७ प्रतिशत मात्र बाँकी छ। आयोजनाका अनुसार हालसम्म मुख्य सुरुङ खन्ने काम ७३.३० प्रतिशत सकिएको छ।

मुख्य सुरुङ र सहायक सुरुङ (इभाकुएसन) गरी ४०२९ मिटर सुरुङ खन्ने काम पुरा भएको छ।

काठमाडौंतर्फ मुख्य सुरुङ ८५१ मिटर र सहायक सुरुङ १०९८ मिटर पूरा भएको आयोजनाले जनाएको छ। यस्तै, धादिङतर्फ ९३१ मिटर मुख्य र ९४७ मिटर इभाकुएसन टनेल खन्ने काम सकिएको छ। धादिङतर्फ १२६ मिटर अडिट टनेल पुरा भएको छ भने ७४ मिटर क्रस प्यासेज पनि निर्माण भएको छ।

इभाकुएसनको कुल लम्बाइ २५५७ मिटर र मुख्य सुरुङ २६८८ मिटर छ।

इभाकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने इभाकुएसन टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज)ले मुख्य सुरुङसँग जोड्छ। आयोजनाका अनुसार अहिले सुरुङमार्गभित्रको कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ।

हाल मुख्य सुरुङको काम फिनिसिङ अथवा कंक्रिट लाइनिङ गर्ने कार्य भइरहेको छ। जसमा हालसम्म ९५७.१० मिटर मुख्य सुरुङको कंक्रिट गर्ने काम सकिएको छ।

यो कुल सुरुङको ३४ प्रतिशत हो। यसमा गाडी चलाउन सक्ने गरी फिनिसिङ गरिएको सुरुङमार्ग हो। यसमा अहिले गाडी पनि गाडी चलाउन सकिन्छ। यस्तै, मुख्य सुरुङका साथै तीनवटा अण्डरपास, चारवटा बक्स कल्भर्ट, ओभरपास, तीनवटा ब्रिज लगायतको बाहिरका संरचनाको काम सम्पन्न भएको छ।

हालसम्म आयोजनाको कुल भौतिक प्रगति ४७.९० प्रतिशत सम्पन्न भएको छ। यस्तै आर्थिक रुपमा भने लगभग ११ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। यो भनेको आयोजनाको कुल लागतको ४९.५९ प्रतिशत हुन आउँछ।

आयोजनाले २०८१ साउनमा गाडी कुदाउन सकिनेगरी निर्माण भइरहेको जनाएको छ। सोही लक्ष्यका साथ अहिले काम भइरहेको आयोजनाको दाबी छ।

२०८१  असार मसान्तसम्ममा सुरुङमार्गको काम सकेर साउन पहिलो साताबाट सवारीसाधनका लागि खुला गरिने योजना रहेको नागढुङ्गा-नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक रामहरि पोखरेलले बताए। उनका अनुसार सो लक्ष्य पुरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको छ। यसका लागि अन्य स्थानीय तथा कुनै क्षेत्रबाट बाधा नरहेको उनको भनाइ छ।

उनका अनुसार अहिले फुल फ्लेजमा भइरहेको छ। दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम पुरा भइरहेको छ। यसैगरी सुरुङमार्गसँगै फिनिसीङ गर्ने काम पनि धेरै सम्पन्न भएको उनी बताउँछन्। आयोजनामा अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५४० जनाले काम गरिरहेका छन्।

‘फिनिसिङ गर्नुभन्दा ६ महिनाअगाडि मुख्य सुरुङको ब्रेकथ्रु हुन्छ। तर सकेसम्म लक्ष्यभन्दा चार महिनामा सुरुङमार्गमा गाडी कुदाउन तयार पार्ने गरी वर्कआउट भइरहेको छ,’ उनले भने।

उनका अनुसार सुरुङमार्गबाहिर पहुँचमार्ग निर्माणको काम भइरहेको छ। काठमाडौंतिर ओभरपास निर्माण सकिएको छ। यस्तै, बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ। मुआब्जा वितरणको काम धमाधम भइरहेको छ।

फ्लाईओभरको लागि मात्र ८५ प्रतिशत मुआब्जा प्रतिशत बाँडिसकेको छ। बाँकी १५ प्रतिशत मुआब्जा रकम यही आर्थिक वर्षभित्र बाँड्ने योजना रहेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *