नेपाली सेनाको एकीकरण टर्च र्याली काठमाडौँ आइपुग्यो
थानकोट।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ मंगलबार काठमाडौं आइपुगेको छ ।
गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ मंगलबार बिहान ९ बजे काठमाडौं आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौं आइपुगेको हो ।
काठमाडौं आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए । काठमाडौं आइपुगेको उक्त र्याली आजै हनुमानढोकामा आइपुगेको नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए ।
र्यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोसाक र हतियारमा सजिएका छन् । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा भोलि पुस २७ मा विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।
रासस














