बागमती प्रदेशको सभामुखमा कांग्रेसबाट शिवराज अधिकारीको उम्मेदवारी

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभा सभामुख पदका लागि कांग्रेसले शिवराज अधिकारीलाई  उम्मेदवार बनाउने भएको छ । धादिङका अधिकारी समानुपातिकतर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् । उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।

यता सत्तागठबन्धनले राप्रपाका भुवन पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तासमीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो । सोहीअनुसार राप्रपाका पाठकले सभामुखमा उम्मेदवारी दिने भएका छन् । प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार आज बिहान १०ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ।

दिनको २:३० बजेदेखि ३:३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ भने आजै अपराह्न ४ बजेभित्र सभामुख पदको उम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

सभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । सत्तासाझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ र नेमकिपाको तीन सांसद रहेका छन् ।

बागमती प्रदेश सभामा अहिले कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *