टिकटक लाइभमा तास खेलाउने चार जना पक्राउ
थानकोट ।
टिकटक लाइभमा जुवा खेलाउने चार जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
दाङ घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर मध्यपुर ठिमी-१० बस्ने २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत र २० वर्षीय डिल्लीराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरू सुरूमा टिकटकमा लाइभ आउँथे। लाइभमा अरूलाई पनि बोलाएर उनीहरूले तास खेलाउने गरेको हो।
उनीहरूले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा रकम जम्मा गर्न लगाउने एसपी कोइरालाले बताए। यसरी हारजित हुने गरी तास खेलाइरहेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।














