खाना खाने गरी बालकोट पुगे प्रचण्ड
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न केहीबेरअघि बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डले आज विहानको खाना उतै खाने कार्यक्रम राखेको ओलीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद विस्तारसहित सभामुख र राष्ट्रपति पदमा प्याकेजमै सहमति खोज्ने अडान राखेका प्रचण्डले मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुको विभागीय जिम्मेवारी बाडफाँट गरेका छैनन् । ओली र प्रचण्डबीच यसअघि पटक पटकका छलफलमा सहमति नहुँदा दाहाल–ओलीबीच संशय पैदा हुन थालेको थियो ।
दुई नेताबीच सम्बन्ध चिसिएकाे विश्लेषण सुरु हुँदा दाहाल भने आज आफैँ ओली निवास सँगै खाना खानेगरी गएका छन् ।
प्रधानमन्त्रीमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि त्यसमा खेल हुन लागेको भए सफल नहुने जवाफ एमाले अध्यक्ष ओलीले दिएका थिए । तर, प्रचण्डले ओलीका सर्त सहज रुपमा स्वीकार नगरे पछि कांग्रेससँगको सहमति कार्यान्वयन हुने त हैन भन्ने प्रश्न उठेको छ ।














