पोखरा विमान दुर्घटना : शव काठमाडौं ल्याइँदै
थानकोट ।
आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ ल्याउने तयारी गरिएको छ ।
शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव पोखरामा नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज ल्याउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो राससमा खबर छ ।
“हालसम्म पहिचान भएका २०-२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा पुगिसकेको छ ।” शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०-११ बजेतिर काठमाडौँ ल्याइने प्रजिअ केसीले जानकारी दिनुभयो ।














