आजदेखि मतदाता नामावली दर्ता सुरु
थानकोट ।
मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आजबाट सुरु हुँदैछ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो तर हिजो राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले आजदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्य समेतसँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताए ।
यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्ने गरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।
प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले जनाएको छ ।














