अझै फेला परेनन् चोभार जलविनायकमा कार खस्दा बेपत्ता भएका पुरूष

Thankot Times

थानकोट । 

चोभारमा बागमती किनार कार खस्दा बेपत्ता भएका पुरूषको खोजी जारी छ। 

सोमबार साँझ खोकनातर्फ जाँदै गरेको कार किनारमा खसेको थियो।  बा ५ च ५६५४ नम्बरको कार खस्दा एक महिला घाइते भएकी थिइन्। 

एक जना पुरूष भने बेपत्ता भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए। 

उनका अनुसार अहिले विपद्को टोलीले बेपत्ताको खोजी गरिरहेको छ। प्रहरीले र्‍याफ्टिङ गरी बेपत्ता भएको हुनसक्ने सम्भावित ठाउँमा खोजी गरिरहेको छ।

बेपत्ता हुनेमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने अन्दाजी ४७ वर्षीय राजकुमार खत्री छन्। 

यस्तै उनकी श्रीमती अम्बिका लामिछाने खत्री घाइते छिन्। कार दुर्घटना भएपछि प्रहरीले उनको उद्धार गरी बल्खुस्थित बयोधा अस्पतालमा पुर्‍याएको थियो। 

उनी बोल्न सक्ने अवस्थामा छिन्। उनले नै श्रीमानसँगै कारमा सवार रहेको बताएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो।

प्रहरीले गएराति नै बागमती नदी किनारमा खसेको कार क्रेनको मद्दतले निकालिसकेको छ। उक्त कारलाई प्रहरी प्रभाग भैसेपाटीमा राखिएको छ। 

तस्बिरहरूः वीरेन्द्र शाक्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *