चलचित्रकर्मी कल्याण कोषलाई उदित-दीपाले गरे पाँच लाख रुपैयाँ सहयोग

Thankot Times

थानकोट ।

प्रसिद्ध नेपाली तथा बलिउड गायक-गायिका दम्पती उदितनारायण झा र दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषलाई ५ लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रमको सिलसिलामा नेपाल आएका झा दम्पतीले चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा चलचित्र कल्याण कोषलाई पाँच लाख १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले पनि जनही १ लाख १ सय एघार रुपैयाँ कोषमा जम्मा गरिदिएका छन् । यसैगरी, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १ सय एघार र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय ११ रुपैयाँ कोषमा जम्मा गरिदिएको कोषकी संयोजक बसुन्धारा भुसालले जानकारी दिइन् ।

गायिका झाले आफ्नो जीवनकालको महत्त्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । आफूले नेपाली चलचित्रका गीतबाट नै उचाइ प्राप्त गरेको स्मरण गर्दै उनले धन्यवाद पनि दिइन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा राखेको बताए ।

नेपाली चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी हुँदा, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको थियो । कोषमा अहिलेसम्म पाँच करोड रुपैयाँ जम्मा भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *