पोखरामा यती एअरको विमान दुर्घटनाः प्रक्रिया पुर्याएर शव आफन्तलाई हस्तान्तरण गरिँदै
थानकोट ।
पोखरामा गत आइतबार भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका मध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ। अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ।
काठमाडौंबाट ६८ यात्रु र चालकदलका चार सदस्य लिएर पोखराका लागि उडेको विमान माघ १ गते धावनमार्ग नजिकै सेती नदीको खोँचमा खसेको थियो।
मंगलबार साँझसम्म ७१ जनाको शव भेटिए पनि अझै एक जना हराइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।
मंगलबार दिउँसो थप एक महिलाको शव भेटिएको उनले जानकारी दिए। ‘बेपत्ता दुई जना मध्ये एक जना महिलाको शव भेटिएको छ। सेतीको पानीको बहाव घटाएसँगै एक जनाको शव भेटियो,’ उनले भने,‘थप एक जनाको खोजी आज बिहानैबाट सुरू भएको हो।’
सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएपछि पानी घटेको हो।।
नदीको पानी घटाइएसँगै मंगलबार गोताखोरसहित ड्रोनको प्रयोग गरी शवको खोजी गर्दा सेती खोँच दुर्घटनास्थलभन्दा करिब ७ सय मिटर तल पानीमा एक महिलाको शव भेटिएको थियो।
दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ र मंगलबार १ जनाको गरी ७१ वटा शव फेला पारिएको प्रहरी उपरिक्षक खत्रीले जानकारी दिए। अब एकजनाको मात्र अवस्था अज्ञात रहेको छ ।
विमानमा चार जना चालक दलका सदस्य सहित ५३ जना नेपाली र बाँकी १५ जना विदेशी यात्रु थिए।














