सभामुखलाई सांसद कृष्णगोपाल श्रेष्ठको सुझाव : ‘दायाँ–बायाँ नहेरी सिधा हेर्नुहोस्’

Thankot Times

थानकोट ।

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई निष्पक्ष ढंगले सभा सञ्चालन गर्न सुझाव दिएका छन् । शनिवार उपसभामुख पदको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सभामुख र उपसभामुखले आफ्नो गरिमामय पदको सम्मान स्वंय आफैले गर्नुपर्ने बताए । उनले सभामुख राजनीतिक दल फुटाउन लाग्न नहुने सुझाव पनि दिए ।

उनले भने– ‘त्यो पदको गरिमा यहाँहरुकै भूमिकामा अगाडि बढ्छ । दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुख जस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन । फुट्न लागेको दल छ भनेपनि अहिले भर्खर हाम्रो मतले सभामुख हुनुभएका सम्मानीय सभामुख महोदय त्यस्ता घटना भोलि पनि आउनसक्छ । त्यसमा कुनै राजनीतिक दलको स्वार्थमा सभामुख जानुभयो भने इतिहासमा त्यसलाई कालो रुपमा सम्झनेछौँ ।’

उनले विगतमा एमाले फुटाउनका लागि सभामुखको नै हात रहेको उल्लेख गर्दै नयाँ निर्वाचित सभामुखबाट त्यस्तो खालको गतिविधि नहुने विश्वास ब्यक्त गरे ।  सांसद श्रेष्ठले भने– ‘मैले ति पुराना सांसदको नाम पनि बिर्सिसके तर नेकपा एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरु कसैले भूमिका खेलेन सभामुख जस्तो गरिमामय पदबाट सो भूमिका खेलियो । दुः खका साथ आज यो सदनमा सभामुख मार्फत यहाँ मैले राख्नुपर्छ । वर्तमान सभामुख मार्फत म यो चाहन्न ।’

उनले गरिमामय पदबाट कसैको पार्टी फुटाउने भूमिका र कसैको पार्टीलाई कमजोर बनाउँने खालको भूमिका हुन नहुने बताए ।  उनले अगाडि भने– ‘हिजोको दिनमा हेर्दा हेर्दै अध्यादेशलाई पर्खिएर कति प्रतिशत भयो भने पार्टी फुटाउन सकिन्छ भनेर त्यो गरिमामय पदको अपमान, उपेक्षा जनभावना विपरितका घटनाहरु घटे । त्यसैले सभामुख र

उपसभामुख हामी सबै सिंगो हलको रेफ्री हो । सभामुखको आसन हलको दायाँबाँया बीचको आसन हो । त्यो आशन दायाँतिर हेरेर बडी ल्याङ्ग्वेज पनि नदिनुस्, बायाँतिर हेरेर बडि ल्याङ्ग्जेज नदिनुस् । सिधा नजर लगाउनुस्, दुइटा आँखा दुईतिर पार्नुस् । एकतिर मात्रै नपार्नुस्, त्यसैमा गौरव र गरिमा हुन्छ ।’
उनले उपसभामुखमा इन्दिरा रानामगरलाई समर्थन गर्दैै उपसभामुखले पनि संसदको गरिमा राख्नुपर्ने बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *