नारायणमान बिजुक्छेँलाई भेटेर राष्ट्रपति भण्डारीले भनिन्- माइती आएजस्तै भयो!

Thankot Times

थानकोट ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग भेटवार्ता गरेकी छन्।

शनिबार अपराह्न सवा ४ बजे राष्ट्रपति भण्डारी भक्तपुरस्थित बिजुक्छेँको निवासमै पुगेर भेट गरेकी हुन्। त्यहाँ जानुअघि राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिर दर्शन गरेकी थिइन्।

बागमती प्रदेश सांसद एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार उनीहरूबीच करिब ४५ मिनेट वार्ता भएको थियो।

भेटमा राष्ट्रपति भण्डारीले बिजुक्छेँकी दिवंगत श्रीमती शोभाप्रति श्रद्धाञ्जली र उनीप्रति समवेदना समेत प्रकट गरेको गोसाईंले बताए।

‘उहाँले धेरै अगाडिदेखि नै भेट्ने कोशिस गरिरहनुभएको थियो। गत असारमा शोभा भाउजू बित्नुभएको थियो। त्यतिखेर नै आउन खोज्नुभएको थियो तर पाउनुभएको थिएन,’ गोसाईंले सेतोपाटीसँग भने, ‘सुरूमा समवेदना प्रकट गर्नुभयो। त्यसपछि स्वास्थ्य अवस्थाबारे बुझ्नुभयो।’

यस्तै अध्यक्ष बिजुक्छेँले नेपाली नागरिक कोही पनि औषधिको अभावले ज्यान गुमाउन नपरोस् भनेर कुरा राखेको पनि उनले बताए।

‘औषधिको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस्। नेपालमा विदेशबाट ल्याउनुपर्ने औषधि नपाएर पनि मानिसको ज्‍यान गइरहेको छ, त्यता सरकारको ध्यान गइरहेको छैन,’ बिजुक्छेँका भनाइ उद्धृत गर्दै गोसाईंले भने, ‘यो क्षेत्रमा काम गर्नु आवश्यक छ भनेर अध्यक्षज्यूले राष्ट्रपतिज्यूको ध्यानाकर्षण गराउनुभयो।’

नेपालमै औषधि उत्पादनमा जोड दिनुपर्ने र औषधि विभागलाई संवदनशील बनाउनुपर्ने कुरा पनि राखेको गोसाईंले बताए।

उनका अनुसार राष्ट्रपति भण्डारी कोरोना महामारीका बेलामा आफूले स्वास्थ्य क्षेत्र सुधारमा कोशिस गरेकोबारे पनि कुरा राखेकी थिइन्।

‘कोभिडमा पनि केही गरौं भनेर कोशिस गरेको र केही कमीकमजोरीका कारण खोप उपलब्ध गर्न कठिन भएको कुरा राख्नुभयो,’ राष्ट्रपति भण्डारीका भनाइ उद्धृत गर्दै उनले भने।

स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा आफ्नो विशेष रूचि भएको पनि अध्यक्ष बिजुक्छेँले बताएका थिए। ३० वर्षदेखि किसानले नपाएको मल उत्पादनको विषयमा कुरा राख्दा पनि सरकारले नसुनेको बिजुक्छेँले गुनासो गरेका थिए।

कुराकानीकै सन्दर्भमा बिजुक्छेँले भक्तपुर दरबार स्क्वायरको पेन्टिङ देखाएर अहिले पनि त्यहाँ टेको लगाइरहेकोबारे राष्ट्रपति भण्डारीलाई अवगत गराएका थिए।

‘भक्तपुर लायकूको टेकोको भरमा छ। आफ्नै आर्थिक स्रोतले उक्त दरबारको निर्माण गर्नतर्फ लाग्नुपर्ने विषयमा पनि अध्यक्षज्यूले ध्यानाकर्षण गराउनुभयो,’ उनले भने, ‘एक अर्ब बढी रकम दिन्छौं भन्दा पनि स्वीकार गरेका थिएनौं। हाम्रो सम्पदा आफैंले नै बनाउनुपर्छ भनेर लागेको उनले बताउनुभयो।’

त्यस्तै अन्तिममा राष्ट्रपति भण्डारीले त्‍यहाँ पुगेर आफू माइतीमा आएजस्तो अनुभव भएको पनि बताएकी थिइन्।

‘एकदमै खुसी भएर उहाँले आज मलाई माइती आएजस्तै भयो भन्नुभयो। वरिष्ठ राजनीतिज्ञ, नेपालको कम्युनिस्ट आन्दोलनको अनुभवी, राजनीतिक नैतिकता, इमानदारी, वाम चिन्तक भएकाले उहाँले त्यस्तो भन्नुभयो,’ गोसाईंले भने, ‘नत्र उहाँ निवाससम्मै पुग्नुपर्ने थिएन। आफ्नो पार्टीको पनि होइन। स्वयं निवासमा पुगेर उहाँले आदर्श प्रकट गर्नुभयो।’

सबै तस्बिरः सुरेन्द्रराज गोसाईं


Leave a Reply

Your email address will not be published. Required fields are marked *