बागमती प्रदेश सरकारमा मन्त्री बन्न तीव्र लबिङ, शक्तिशाली मन्त्रालयमा नेकपा एसको दाबी
थानकोट ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदको सपथ लिएको दुई साता बितिसक्दा समेत बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ गर्दैगर्दा सत्ता साझेदार दलका सांसदहरुले भने मन्त्री बन्न लबिङ तीव्र पारेका छन् ।
उनीहरु आफू अनुकुल मन्त्रालयका लागि पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटमा व्यस्त बनेका हुन् । हाल प्रदेशमा सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रबाट मन्त्रीमा ८ जनाको चर्चा रहेको छ । जसमा प्रदेशसभाकी पूर्वउपसभामुखसमेत भइसकेकी राधिका तामाङ, पूर्वमन्त्री युवराज दुलाल ‘शरद’, कुमारी मोक्तान, सरल सहयात्री, गंगा नारायण श्रेष्ठ, युवराज चौलागाई, प्रेमबहादुर पुलामी ‘छिन्तु’ र युवराज चौलागाईंको नाम चर्चामा रहेको छ ।
यसैगरी सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमालेबाट भने प्रकाश श्रेष्ठ, केशवप्रसाद पोखरेल, भारती पाठक, एकालाल श्रेष्ठ, अमन कुमार मास्के लगायतको नाम चर्चामा छ । एमालेबाट जगन्नाथ थपलिया यसअघि नै मन्त्री बनिसकेका छन् भने उपसभामुखमा अप्सार चापागाईं निर्वाचित भइसकेकी छिन् ।
यस्तै राप्रपाबाट मन्त्रीमा कुमारी तामाङ, राजु विष्ट, डम्बरबहादुर तामाङ, लक्ष्मी घिमिरे, राजेन्द्र प्रजापति लगायतले आकांक्षा व्यक्त गरेका छन् । यसअघि राप्रपाबाट प्रदेशको सभामुखमा भुवन कुमार पाठक निर्वाचित भइसकेका छन् भने उद्धव थापा मन्त्री बनिसकेका छन् ।
सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यपनि मन्त्रीको लागि तीव्र लविङमा छन् । यस्तै सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले पावरफुल मन्त्रालयमा दाबी गरिरहेको छ । एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल, लक्ष्मण लम्साल, बसन्तप्रसाद मानन्धर, रमा आले मगर, राजेन्द्रमान श्रेष्ठ लगायत मन्त्रीको दाबेदार छन् । सरकारलाई विश्वासको मत दिएको कांग्रेस भने प्रतिपक्षमा रहनेछ ।
बागमती प्रदेशमा कुल ११० सदस्यमध्ये कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकीपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।














