नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ

Thankot Times

थानकोट ।

नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जना क्रिकेटरलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सिआइबी स्रोतले  जनाएको छ।

सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो।

आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन्।

आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय राष्ट्रिय टिम र पपुवा न्युगिनीविरुद्धको खेलबाट टी-२० टिममा डेब्‍यू गरेका थिए। मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन्।

पछिल्लो समय राष्ट्रिय टिममा नरहेका ४१ वर्षीय मेहबुबको नाममा एकै खेलमा दश विकेट लिने कीर्तिमान छ। लिगको समयमा उनी भारतमा गएका थिए। त्यहीँबाट उनले क्रिकेटरसँग फिक्सिङका लागि सम्पर्क गरेको प्रहरीको भनाइ छ।

राष्ट्रिय टिमबाट नखेले पनि मेहबुबले भने मधेश प्रदेशको टिमबाट गत वर्षसम्म राष्ट्रिय क्रिकेट खेलेका थिए।

१९ वर्षीय आदिलले पपुवा न्युगिनीविरुद्धको खेलमा डेब्यू गर्दा ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए।

गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका थिए।

यस्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेको थिए।

त्यसपछि गृह मन्त्रालयको निर्देशनमा सिआइबीले अनुसन्धान थालेको थियो। सिआइबीले लिगमा स्पट फिक्सिङ भएको र भारतीय कम्पनी सेभेन थ्रीको संलग्नता रहेको निश्कर्ष निकालेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ