आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा
थानकोट ।
युवा ओपनर अंकित सुवेदी, स्पिनर सूर्य तामाङ र मौसम ढकाललाई पहिलो पटक समेट्दै नेपालले अर्को महिना घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि २८ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ ।
प्रदेश एकबाट घरेलु क्रिकेट खेल्ने अंकित, बागमती प्रदेशबाट खेल्ने स्पिनर सूर्य, नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने लेग स्पिनर मौसम ढकाल पहिलो पटक नेपाली क्रिकेट टोलीको प्रशिक्षणमा परेका हुन् । त्यस्तै सिद्धान्त लोहनी पनि पहिलो पटक ओडिआई टोलीको प्रशिक्षणमा परेका छन् । सिद्धान्त पाँच वर्षपछि सिनियर टोलीको प्रशिक्षणमा परेका हुन् ।
अंकितले प्रधानमन्त्री कपमा ४ खेलमा १ शतक र १ मा अर्धशतकसहित कुल १ सय ८६ रन बनाएका थिए । अंकितले बागमती प्रदेशविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।
मौसम ढकालले प्रधानमन्त्री कपमा ६ खेलमा १५ विकेट लिँदै शीर्ष स्थानमा रहेका थिए । नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सबाट खेलेका थिए ।
सिद्धान्तले प्रदेश एकबाट प्रधानमन्त्री कप र पोखरा एभेन्जर्सबाट सानदार प्रदर्शन गरेका थिए । सिद्धान्तले पछिल्लो समय घरेलु क्रिकेटमा सानदार ब्याटिङ र लेग स्पिन प्रदर्शन गर्दै आएका छन् ।
बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने बायाँ हाते स्पिनर सूर्य तामाङले पनि पहिलो पटक प्रशिक्षणमा स्थान बनाएका हुन् । सूर्यले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाल टि२० लिगमा विराटनगरलाई फाइनलमा पुर्याउन बायाँ हाते स्पिनर सूर्यले ८ खेलमा २६.४ ओभर बलिङ गर्दै १ सय १६ रन खर्चेर कुल १२ विकेट लिए । सूर्य नेपाल टि२० लिगका उदीयमान खेलाडी चुनिएका थिए ।
अनुभवी खेलाडी शरद भेषावकर, सन्दीप जोरा, अभिनाश बोहरा, कुशल मल्ल, अनिल शाह, विक्रम सोब र भुवन कार्कीले टोलीमा फर्किएका छन् ।
नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रुअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपाल २४ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ ।
बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोली :
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी ।













