अब पाइलटले दैनिक ८ घन्टा उडान र ८ पटकमात्र अवतरण गर्न पाउने व्यवस्था लागू गरिँदै

Thankot Times

थानकोट । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आउँदाे ग्रीष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो ।

बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनका लागि हवाई उडानसम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताउनुभयो । विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सिकागो सम्मेलनको मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनका लागि परिर्माजन गर्ने गर्छाैँ । हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन के–के गर्न सकिन्छ भनेर हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरूसँग छलफल गरेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार काम गरिरहेका छाैँ ।’

सूचना अधिकारी भुलले प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटकमात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक १० घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ । उहाँले आईएफआर उडान हुने विमानस्थलमा भीएफआर उडान गर्न नपाइने बताउनुभयो । पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्ने उहाँले बताउनुभयो उज्यालो अनलाइनमा खबर छ। 

सूचना अधिकारी भुलले चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको जानकारी पनि दिनुभयाे । वायु सेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *