बागमती प्रदेशमा संसदीय समितिको नेतृत्व लिन सबै दलको दाबी

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा संसदीय समितिको नेतृत्व लिन सबै दलहरूले दाबी गरेका छन् ।

बागमती प्रदेशमा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेको छ ।

प्रदेश सभाका संसदीय समितिहरूमा दलहरूले दावी नछाडेपछि सहमति नजुट्दा बागमती प्रदेश सभाको सोमबारको बैठक प्रभावित भएको छ ।

सोमबार मध्याह्नका लागि आह्वान गरिएको बैठक पटकपटक सारेर सहमतिको प्रयास गर्दा पनि दलहरूबीच सहमति जुट्न सकेन ।

आज मध्याह्न बैठक बस्नुअघि बैठकको कार्यसूचीमाथि छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । एक सांसदका अनुसार बैठकमा कांग्रेसले पाँचवटै समितिको सभापतिमा दावी पेश गर्यो ।

नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि एक-एक समितिमा दावी पेश गरेका थिए ।

दलहरू अडानमा रहेपछि दिउँसो ४ बजेका लागि सभाको बैठक बोलाउने गरी स्थगित गरिएको थियो । त्यसपछि  दिउँसो ३ बजे दलहरू पुनः छलफलमा बसे । तर, फेरि पनि सबै आ-आफ्ना अडानमा रहेपछि सहमति जुट्न सकेन ।

प्रदेश सभाको बैठक माघ २६ सम्मका लागि स्थगित भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ