साफ यू-२० महिला च्याम्पियनसिपः उपाधीका लागि नेपाल र बंगलादेश भिड्ने
थानकोट ।
साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
ढाकामा लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ५-० गोलले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्यो ।
त्यसअघि नेपालले आफ्नो निर्णायक खेलमा भारतलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
अब नेपाल र बंगलादेशबीच भोलि बिहीबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिम प्रतियोगितामा सहभागी छन् ।
लिग चरण सकिदा बंगलादेश अपराजित रहदै ७ अंक जोड्यो। बंगलादेशले भारतसँग बराबरी खेल्दा नेपाल र भुटानलाई हरायो ।
आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित नेपालले त्यसपछि भने भुटानलाई र भारतलाई हराउँदै ६ अंक जोड्यो । लिग चरणमा शीर्ष टिम र दोस्रो हुने टिमबीच उपाधि भिडन्त हुने नियमअनुसार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्न लागेका हुन् ।
भारतले भने भुटानलाई हराउँदा बंगलादेशसँग बराबरी र नेपालसँग हार बेहोर्यो। भुटानले भने तीनै खेलमा हार बोहोर्दा २१ गोल खायो ।













