अपहरणको नाटक गरेको आरोपमा नैकापबाट समातिए ६ जना
थानकोट ।
अपहरणको नाटक गरेको आरोपमा प्रहरीले नैकापबाट ६ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित रिसोर्टबाट विदुर बस्नेत, जगतबहादुर भोलान, कान्छामान जिम्बा, आशमान लामा, दिलिप विक र भोला महतो नुनिया पक्राउ परेका हुन् ।
उनीहरुले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
विदुर बस्नेतले काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामालाई १० लाख रुपैयाँ सापटी दिएका थिए । तर उनीहरुले पैसा तिर्न सकेका थिएनन् ।
मंगलबार विदुर, जगतबहादुर, कान्छामान र आशमान पुरानो नैकापस्थित एक रिसोर्टमा बसेका थिए । त्यहाँबाट जगतबहादुर, कान्छामान र आशमानले विदुरको पैसा तिर्ने उद्देश्यले आआफ्नो घरमा फोन गरी आफू अपहरणमा परेको भन्दै साढे ३ लाख रुपैयाँ लिएर आउन भनेका थिए । तर उनीहरुका पत्नीहरु पतिको अपहरण भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गर्न आइपुगेका थिए ।
एसपी राठौरका अनुसार प्रहरीले खोजी गर्दा उनीहरु पुरानो नैकापस्थित एक रिसोर्टमा बसिरहेको फेला परेका थिए । प्रहरीले विदुर र उनीसँग लेनदेन कारोबार भएका ३ जना र रिसोर्टमा सँगै बसेका दिलिप र भोलालाई पनि पक्राउ गरेको हो । उनीहरुमाथि अभद्र व्यवहारमा अनुसन्धान सुरु गरेको राठौरले जानकारी दिए ।
उनीहरूमध्ये एकजना स्थानीय रहेको प्रहरीले जनाएको छ ।













