राष्ट्रिय कराँते प्रतियोगिता, मच्छेगाउँका स्वर्णिमले चुमे स्वर्ण
थानकोट ।
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको पुरुष टिम कातामा सशस्त्र प्रहरी क्लबदे स्वर्ण पदक जितेको छ ।
ललितपुर सातदोबाटोस्थित कराँते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो ।
फाइनलमा एपिएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले कास्य पदक जिते । टिम इभेन्टमा ९ टोलीको सहभागिता थियो । जारी प्रतियोगितामा अहिले सम्म सकिएका तीन वटा इभेन्टमध्ये एपिएफले २ स्वर्ण र पुलिसले १ स्वर्ण पदक जितेको छ ।
एकल काताको महिलामा पुलिसकी चन्चला दनुवार र पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण पदक जितेका थिए । गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव-२०७९ अन्तर्गत नेपाल कराँते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने राष्ट्रिय कराँते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
माघ २८ गतेसम्म चलने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन महिला र पुरुष एकल र टिम काता तथा कुमुतेका दुई प्रतिस्पर्धा हुनेछन् । पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।












