बागमती प्रदेशले दिएको जनयुद्ध दिवसको बिदा संघीय सरकारले नमान्ने !

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले १ फागुनमा जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले दिएको निर्णय भने सिंहदरबार मातहत रहेका कार्यालयहरुले नमान्ने भएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार संघीय मातहतका कार्यालयहरु फागुन १ गते सञ्चालन हुनेछ ।

तर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशभरीका सबै सरकारी कार्यालयहरुको लागि सूचना निकालेको जनाएको छ ।

‘प्रदेश सरकारलाई नेपाल सरकारले लागु गर्ने बिदा बाहेक ६ वटा बिदासम्म दिन सक्ने अधिकार दिएको छ, यो ६ वटा बिदा मध्येको एक बिदा हो ।’ मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटा भन्छन् ‘हामीले संघीय कार्यालयको प्रतिनिधिको रुपमा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने हो, हाम्रो मन्त्रालयले गरेको निर्णय संघ, प्रदेश र स्थानीय तह सबैको लागि हो ।’

संघीय कार्यालयहरु बन्द नभए पनि स्थानीय तहरु भने प्रदेश सरकारको निर्णय अनुसार बन्द हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ, अनलाइनखबरमा समाचार छ ।

मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङले प्रदेश सरकारले दिएको बिदा स्थानीय तहले मान्नु पर्ने बताए । उनले सिंहदरबार अन्तर्गतका कार्यालयहरुले भने नमान्न सक्ने पनि बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *