पुस महिनाबाट ट्राफिकले बढाएको सवारी जरिवाना फिर्ता, पहिलो पटकमै १५ सय जरिवाना नहुने

Thankot Times

थानकोट । 

ट्राफिक प्रहरीले गत पुस महिना बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । ट्राफिक नियम पालनामा कडाइ गर्न गत पुस महिनाबाट लागु हुने गरि ट्राफिक जरिवाना बढाएको थियो

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।

कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षमा बसेको सरोकारवालबीचको बैठकले ट्राफिक प्रहरीले लागु गरेको नयाँ जरिवाना कानुनसंगत नभएकाले अब कानुन अनुसार नै उठाउने सहमति भएको हो । त्यसका लागि ट्राफिक प्रहरीले सफ्टवेयरमा परिवर्तन पनि गरेको छ ।

रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोड्दा, सडकको गलत साइडबाट चलाउँदा, एकतर्फी सडकमा सवारी चलाउँदा, अवस्था ठीक नभएको सवारी चलाउँदा, रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा र सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाउँदा एकैपटकमा १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिकको निर्णय कार्यान्वयन नहुने भएको छ ।

त्यसैगरी नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु राख्न इन्कार गरेमा, लापरबाहीका साथ सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएममा र निषेधित क्षेत्रमा हर्न बजाएमा पनि यस्तो जरिवाना लाग्ने नियम छ ।

सरकारले ०७५ मा यातायात व्यवस्था विभागलाई अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई दिएको तर्क गरेर जरिवानामा एकैपटक तेब्बरले वृद्धि गरिएको थियो । अब सो व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *