कुशल भुर्तेलको मेडन शतकको मद्दतमा नेपालको ऐतिहासिक जित, कीर्तिमानको ओइरो
थानकोट ।
नेपालले मंगलबारबाट त्रिवि क्रिकेट मैदानमा सुरू भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई हराएको छ ।
कुशल भुर्तेलको शतकमा नेपालले पाहुना टोली नामिबियामाथि २ विकेटको जित दर्ता गराएको छ ।
नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाउँदै २८७ रन बनायो ।
नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो सर्वाधिक रन पनि हो । नेपालका लागि कुशलले शतकीय पारी खेले । ११३ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाए ।
नेपालका लागि रोहित कुमार पौड्लले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । नेपालका लागि सन्दीप जोराले २८ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे । त्यस्तै करण केसीले २० रन बनाए ।
नामिबियाका लागि रुबेन र कार्ल ब्रेनस्टोकले तीन तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो ।
नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए । गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए ।
त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे । नेपालका लागि करण केसीले पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा करण एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो ।
त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जित हात पारेसँगै नेपालले आधा दर्जन बढी कीर्तिमान बनाउन सफल भएको छ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर
नामिबियाविरुद्ध ८ विकेटको क्षतिमा २८७ रन जोडेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर बनायो। यसअघि नेपालले पपुवा न्युगिनीविरूद्ध ८ विकेटको क्षतिमा २८६ रन जोडेको थियो। नेपालले पपुवा न्युगिनीविरूद्ध पहिले ब्याटिङ गरेर सो रन बनाएको थियो।
रोहितको एक हजार रन
खेलमा ७२ रन जोडेका कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटर बने। रोहितले सन् २०१८ मा एकदिवसीयमा डेब्यू गर्दै ३३ खेलमा १०१७ रन जोडेका छन्। रोहितको एकदिवसीयमा उच्च स्कोर १२६ हो भने उनले अहिलेसम्म १ शतक र ५ अर्धशतक प्रहार गरेका छन्।
कुशल एकदिवसीय र टी-२० मा शतक हिर्काउने तेस्रो खेलाडी
खेलमा ११५ रन जोडेका ओपनर कुशल भुर्तेलको पहिलो एकदिवसीय शतक हो। यसअघि उनले टी-२० मा पनि शतक प्रहार गरेका थिए। उनी नेपालका लागि एकदिवसीय र टी-२० शतक हिर्काउने तेस्रो खेलाडी बने। यसअघि दीपेन्द्रसिंह ऐरी र पारस खड्काले नेपालका लागि टी-२० र एकदिवसीय दुवै फर्म्याटको खेलमा शतक प्रहार गरेका थिए।
अहिलेसम्मकै ठूलो लक्ष्य पार
खेलमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पार गरेसँगै नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्यो। नेपालको यसअघि सबैभन्दा ठूलो लक्ष्य पार गरेको रेकर्ड युएईले दिएको २५५ रनको थियो।
कुशल र रोहितको कीर्तिमानी साझेदारी
खेलमा कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेसँगै दुई कीर्तिमान बने। यो नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो। यसअघि सर्वाधिक रनको साझेदारी देव खनाल र दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध गरेको १२९ रनको साझेदारी थियो। त्यतिबेला पनि दुई बीच तेस्रो विकेटका लागि सो साझेदारी भएको थियो। अहिले कुशल र रोहितले समग्र साझेदारी र तेस्रो विकेटको लागि गरी दुई कीर्तिमान बनाए।

रोहित र सोमपालको सर्वाधिक खेल
नामिबियाविरुद्ध मैदान उत्रिएसँगै ३३-३३ एकदिवसीय खेलेर रोहितकुमार पौडेल र सोमपाल कामी नेपालका लागि सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बने। दोस्रो सथानमा रहेका आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ३२-३२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
करण केसीले लिए तेस्रो पाँच विकेट
खेलमा पाँच विकेट लिएका करणले नेपालका लागि तीन पटक पाँच विकेट लिने कीर्तिमान बनाए। करणले २९ एकदिवसीय खेल मध्ये तीन खेलमा ५ विकेट लिन सफल भएका हुन्। करणले टी-२० अन्तर्राष्ट्रियमा पनि एक पटक पाँच विकेट लिन सफल भएका छन्।
लिग-२ मा नामिबियाविरुद्ध पहिलो जित
लिग-२ मा नेपालले अन्य पाँच प्रतिद्वन्द्वीलाई हराए पनि नामिबियालाई भने पहिलो पटक हराउन सफल भयो। यसअघि नामिबियाविरुद्ध लिग-२ मा खेलेका चारै खेलमा नेपाल पराजित भएको थियो। पाँचौ खेलमा भने नेपालले जित निकाल्न सफल भयो।













