चाैथो थानकोट गोल्डकपः मिलन युथको पोष्टमा वी आर ब्रदर्शको पाँच गोल
थानकोट ।
थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करण शनिबारबाट सुरू भएको छ । चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा नगरप्रमुख घनश्याम गिरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न उद्घाटन खेलमा साबिक च्याम्पियन वी आर ब्रदर्शले सुखद सुरूवात गरेको छ ।
वी आर ब्रदर्शले उपाधी दाबेदारी प्रस्तुत गर्ने क्रममा मिलन युथ क्लबमाथि ५-२ गोल अन्तरले खेल जित्यो । उसका लागि श्री माम्बाले ह्याट्रिक गर्दा संजीव मगरले २ गोल गरेका थिए भने मिलन युथका लागि मन्दिप् तामाङ र मनोज दर्लानीले सान्त्वना गोल गरेका थिए ।
वी आर ब्रदर्शले दोश्रो चरणमा फाल्गुन १३ गते भोलि हुने थानकोट एफसी र वाणस्थली युथ समाजबीचको विजेता र माटीखेल एफसीबीचको खेलको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत फाल्गुन ७ गते आइतबार थानकोट एफसी र वाणस्थली युथ समाजबीच दिनको २ बजे खेल हुनेछ भने सो अघि मध्यान्ह १२ बजे ल्याक्टो लक्ष्य एफसी र गलबन युनाइटेड एफसीबीच खेल हुनेछ ।















