सरकारले जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्छ: राष्ट्रपति भण्डारी
थानकोट ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सके प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छिन् ।
प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्ने बताएकी हुन् ।
‘हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ शहीदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ’, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान प्रकट गरेकी छिन् । उनले सन्देशमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गरेकी छिन् ।
यसैगरी, प्रजातन्त्र दिवसकै अवसरमा शुभकामना सन्देश जारी गरी उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गरेका छन् ।
‘विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपलब्धिहरू संस्थागत भइसकेका छन, यी उपलब्धिहरूको संरक्षण तथा रक्षा सबै नेपालीको कर्तव्य हो, ‘ सन्देशमा भनिएको छ ।
प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उपराष्ट्रपति पुनको अपेक्षा छ ।













