भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्कियो नेपाली महिला टिम
थानकोट ।
भारतसँगको दुई मैत्रीपूर्ण खेलपछि नेपाली राष्ट्रिय महिला फुटबल टिम आज (आइतबार) स्वदेश फर्किएको छ । आज दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएको टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साहसँगै अन्य पदाधिकारीहरूले स्वागत गरेका थिए ।
दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा गएको नेपाली टिमले दुवै खेलमा घरेलु टिमलाई बराबरीमा रोकेको थियो ।
नेपालले फागुन ३ गते भएको पहिलो खेलमा घरेलु टिमलाई २–२ को र दोस्रो खेलमा फागुन ६ गते गोलरहित बराबरीमा रोकेको थियो । पहिलो खेलमा नेपाल २–० ले पछि पर्दा खेलको अन्तिमतिर सावित्रा भन्डारीले तीन मिनेटमा दुई गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
नेपाल र भारत दुवै टिमले ओलम्पिक छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् । ओलम्पिक छनोटको समूह ‘सी’मा रहेको नेपालसँगै यो समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् । पेरिसमा हुने ओलम्पिक छनोट अप्रिलमा हुने तालिका छ ।













