केपी ओली कप फुटबलको ट्रफी सार्वजनिक

Thankot Times

थानकोट ।

राष्ट्रिय युवा संघले आयोजना गर्ने ’केपी ओली कप’ फुटबल प्रतियोगिताको ट्रफी मंगलबार सार्वजनिक गरिएको छ । 

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा प्रतियोगिताको ट्रफी युवा संघका इन्चार्ज महेश बस्नेत र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 

फागुन ११ गतेबाट हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ । उद्घाटन खेल एन्फा मुख्यालयकै मैदानमा हुनेछ । यसअघि उद्घाटन खेल च्यासल मैदानमा हुने भनिएको थियो ।

ट्रफीसँगै आज प्रतियोगिताको आधिकारिक गीत पनि सार्वजनिक गरिएको छ । 

फागुन १७ गतेसम्म हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सहिद स्मारक ’ए’ डिभिजनको विजेता मछिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाईटेड, सातदोबाटो युथ र जावलाखेल युथ क्लब छन् । आयोजक टोली केपी ओली फुटबल क्लब पनि प्रतियोगितामा सहभागी हुनेछ । 

नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको अन्य खेलमा लिगविजेता मछिन्द्रले चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मीले एनआरटी र जावलाखेल युथले केपी ओली एफसीसँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ ।

साथै प्रत्येक खेलका ‘प्लेयर अफ दी म्याच’ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *