लागुऔषध सेवन गरी सवारीसाधन चलाउने युवा चालकहरू नागढुङ्गा नाकाबाट प्रहरी नियन्त्रणमा
थानकोट ।
लागुऔषध सेवन गरी सवारीसाधन चलाउने युवा चालकहरू नागढुङ्गा नाकाबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन चलाउने सवारी चालकले नशालु पदार्थ/लागु औषध सेवन गरी सवारी चलाएको/नचालएको सम्बन्धमा चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ ५ बजे सवारी साधनका चालहरुलाई सोधपुछ गर्दा उनीहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको स्वीकारेका थिए ।
सो पश्चात उनीहरूको नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएका ल्याब टेक्निसियनले ड्रग्स किटको माध्यमबाट पिसाब परीक्षण गर्दा लागुऔषध सेवन गरेको पोजेटिभ नतिजा प्राप्त भएपछि ती सवारी चालकहरुलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गरी प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरी वृत्त थानकोट स्रोतले जानकारी दियो ।
पक्राउ गरिएका लागुऔषध सेवन गरी सवारी चलाउने चालकहरूमा हेटौडा उपमहानगरपालिका ५ बस्ने बा. प्र.०३-००१ ख १७०६ नं. को ट्रक चालक ४२ वर्षीय गणेश चौलागाई, सिन्धुपाल्चोक कालिका गाउँपालिका १ बस्ने बा. प्र.०२-०३४ प ७९२९ नं.को मोटरसाइकल चालक २३ वर्षीय मेख बहादुर थापा मगर, लमजुङ राईनस नगरपालिका ९ बस्ने ग. १ ख. ७१४५ नं. को बस चालक २५ वर्षीय श्याम थापा रहेका प्रहरीले जनाएको छ । यसैगरी लमजुङ सुन्दरबजार नगरपालिका ९ बस्ने ग. १० प. ९८३४ नं. को मोटरसाइकल चालक २५ वर्षीय संजय गुरुङ, चन्द्रागिरि नगरकै एक नीजि विद्यालयको बस चलाउने रामेछाप पकरबास गाउँपालिका ५ का २५ वर्षीय गणेश दमाई र धादिङ सिद्धलेख गाउँपालिका १ बस्ने प्र.३-०१-०२५ च.६८८२ नं. को पिकअपका चालक २८ वर्षीय विजन सिलवाल रहेको प्रहरी वृत थानकोटले जनाएको छ ।
नियन्त्रणमा लिइएको सवारी चालकहरुमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको जनाइएको छ ।













