प्राथमिक अस्पताल थानकोटमा साझा औषधी कक्ष स्थापना गरिने, २४सै घण्टा सेवा उपलब्ध हुने
थानकोट ।
अस्पताल हातामा सुपथ मूल्यमा औषधी बिक्रीका लागि चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल र साझा स्वास्थ्य सेवा सहकारीबीच ९ बुँदे सम्झाैता भएको छ ।
शनिबार नगरप्रमुख घनश्याम गिरी तथा नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीको उपस्थितिमा प्राथमिक अस्पताल थानकोटका प्रमुख डा. हेमनाथ आचार्य र साझा स्वास्थ्य सेवाका महाप्रबन्धक चुणामणी भण्डारीबीच अस्पताल हातामा औषधी बिक्री कक्ष सञ्चालनका लागि लिखित सम्झाैता भएको हो ।
प्राथमिक अस्पताल थानकोटका प्रमुख डा. हेमनाथ आचार्यका अनुसार साझा औषधी बिक्री कक्षमा २४ सै घण्टा सेवा उपलब्ध गराउने शर्त उक्त सम्झाैतमा उल्लेख गरिएको छ । उक्त सम्झाैता अनुसार अस्पतालमा प्रयोग हुने सबै खालका औषधी तथा स्वास्थ्य सामाग्रीहरू बिक्री कक्षमा साझा स्वास्थ्य सहकारीले यथासम्भव उपलब्ध गराउनुपर्नेछ । ती औषधी खरिदमा नगरबासीहरूले खुद्रा बिक्री मूल्यमा थप पाँच प्रतिशत छुट उपलब्ध गराउनुपर्नेछ ।
साझा स्वास्थ्य सेवाका महाप्रबन्धक चुणामणी भण्डारीले चन्द्रागिरि नगर अस्पतालमा उपचारका लागि आउने बिरामीहरूका लागि आवश्यक पर्ने औषधीहरू सुलभ दरमा उपलब्ध गराउने र गुणस्तरमा कुनै कमी हुन नदिने बताउनुभयो ।
नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले साझा औषधी बिक्री कक्ष सञ्चालनमा आएसँगै नगरमा स्वास्थ्य बीमाका सेवाग्राहीले सहज रूपमा औषधी पाउने बताउनुभयो । यसैगरी नगरप्रमुख घनश्याम गिरीले स्थानीय स्तरमा सुपथ मूल्यमा औषधी बिक्री स्थापना हुनुले बिरामीहरूका लागि आवश्यक औषधी खरिदका लागि थरिथरिका औषधी पसलहरूसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएको जनाउनुभयो ।














