बागमती प्रदेशमा राप्रपाका ३ मन्त्रीले राजीनामा बुझाउँदै
थानकोट ।
राष्ट्रपतिको निर्वाचनका लागि केन्द्रीय तहमा सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा राप्रपाका ३ मन्त्रीले पदबाट राजीनामा दिने भएका छन् । पार्टीको निर्णयअनुसार बागमती प्रदेश सरकारबाट पनि राप्रपा सरकारबाट बाहिरिने भएको हो ।
प्रदेश सरकारमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्ट रहेका छन् । राप्रपा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका मन्त्री थापाले केन्द्रमा राप्रपा सरकारमा नबस्ने भएपछि प्रदेशमा पनि आफूहरू सरकारबाट अलग हुने तयारी गरेको बताए । उनले सरकार छाडन राप्रपाका सबै मन्त्रीहरूको राजीनामा पत्र तयार भइरहेको बताए ।
आजै संघीय सरकारमा सहभागी राप्रपाका मन्त्रीहरुले पनि राजीनामा बुझाइसकेका छन् ।
मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा थापा गत पुस २६ गते र अन्य २ मन्त्री माघ ११ गते नियुक्त भएका थिए ।













