चाैथो थानकोट गोल्डकप अन्तर्गत आज क्वाटरफाइनल चरणका अन्तिम २ खेल हुँदै
थानकोट ।
चाैथो थानकोट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल सञ्चालन हुँदैछन् ।
चन्द्रागिरि नगरपालिका-३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा हुने प्रतियोगिताको तेश्रो क्वारटरफाइनल खेलमा गणेशमान सिंह स्मृति क्लब र विष्णुदेवी फुटबल क्लब मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्नेछन् । गणेशमान सिंह स्मृतिले वेस्टर्न युनाइटेड फुटबल क्लबमाथि जित हात पार्दै क्वाटरफाइनलका लागि छानिएको थियो भने विष्णुदेवीले कुर्दन र समाजसुधार क्लबमाथि जित हात पादै अन्तिम ८ का लागि छानिएको थियो । आज हुने खेलको विजेताले वीआर ब्रदर्श क्लबको ए टीमसँग फाइनल यात्राका लागि फाल्गुन १६ गते प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी दिउँसो २ बजे हुने अन्तिम क्वाटरफाइनल खेलमा कुर्दन एकेडेमी र दीपशिखा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । कुर्दन चुनदेवी यूथ क्लबलाई स्तब्ध पार्दै अन्तिम ८ को यात्रा गर्न सफल भएको हो भने दीपशिखाले ब्लुबेल फुटबल क्लबको चुनाैती पन्छाउँदै कुर्दनसँगको भेट पक्का गरेको हो । आज हुने खेलको विजेताले वीआर ब्रदर्श क्लबको बी टीमसँग फाइनल यात्राका लागि फाल्गुन १७ गते प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न क्वाटरफाइनल खेलहरूमा वीआर ब्रदर्श क्लबका दुवै टोली विजयी हुँदै अन्तिम चारका लागि छानिएका छन् ।













